युक्रेनको आक्रमणमा ६० रुसी सैनिकको मृत्यु



बीबीसी । अधिनस्थ पूर्वी युक्रेनस्थित एउटा सैनिक प्रशिक्षण क्षेत्रमा गरिएका दुईवटा क्षेप्यास्त्र हमलामा परी कम्तीमा ६० जना रुसी सैनिकहरू मारिएका छन् । एकजना वरिष्ठ रुसी कमान्डरको स्वागतका लागि दोनेत्स्क क्षेत्रमा सैनिकहरू भेला भएका बेला उक्त आक्रमण भएको हो ।

युक्रेनले अमेरिकामा निर्मित हाइमार्स क्षेप्यास्त्र प्रहार गरेको ठानिएको छ। तर युक्रेनी अधिकारीहरूको तर्फबाट अहिलेसम्म त्यसबारे कुनै टिप्पणी गरिएको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सेर्गेई शोइगुसँग बैठक गरेको केही घण्टापछि घटना भएको बताइएको छ ।


बैठकका क्रममा शोइगुले धेरै क्षेत्रको अग्रपङ्क्तिमा रुसले सफलता हासिल गरिरहेको दाबी गर्दै पछिल्लो समय एभ्डीभ्का नगरमाथि गरिएको कब्जाबारे उल्लेख गरेका छन् । तर दोनेत्स्कमा भएको घटनाबारे उनले केही उल्लेख गरेनन् ।

घटनामा बाँच्न सफल एक सैनिकका अनुसार मेजर जेनरल ओलेग मोइसिएफको स्वागतका लागि सैनिक जवानहरूलाई ब्रिगेड कमान्डरहरूले खुला मैदानमा उभिन लगाएका थिए ।

उनीहरूलाई दुईवटा क्षेप्यास्त्रले निशाना बनाइएको बताइएको छ । सो क्षेत्रका गभर्नर एलेक्सान्डर ओसिपोभले घुमाउरो तरिकाले घटनाको पुष्टि गरेका छन् । तर त्यसबारे आएका विवरणहरूलाई ओसिपोभले उनकै शब्दमा तथ्यमा आधारित नभएको र बढाइचढाइ गरिएको दाबी गरेका छन् ।