म्यान्मामा बङ्गलादेशको सीमा नजिकै लडाइँ भएको छ । आतङ्कित बासिन्दाहरूले गोलीहरूले सीमा पार गरेको र चिकित्सकहरूले बिरामीको उपचार गरिरहेको बताएका छन् । सरकारले सीमा अधिकारीहरू आश्रयको खोजीमा भागेको बताएको छ ।
सहायता एजेन्सी डाक्टर्स विदआउट बोर्डर्स (एमएसएफ) ले कक्स बजारमा आफ्ना चिकित्सिकहरूले ‘बङ्गलादेश–म्यान्मा सीमामा लडाइँपछि ठूलो सङ्ख्यामा बिरामी प्राप्त गरेको’ बताएको छ ।
आइतबार साँझ १७ बिरामीलाई कुटपालोङ अस्पतालमा भर्ना गरिएको एमएसएफले बताएको छ । उसले बिरामीहरूको राष्ट्रियताका बारेमा थप जानकारी दिएको छैन । बङ्गलादेशका गृहमन्त्री असदुज्जमान खानले छिमेकी म्यान्माको अशान्त रखाइन राज्यका कम्तीमा १४ जना सीमा अधिकारी विद्रोही अराकान सेना (एए) का लडाकू अगाडि बढ्नुअघि ‘आत्मरक्षाका लागि हाम्रो क्षेत्रमा प्रवेश गरेका बताए । यद्यपि बङ्गलादेशको निजी प्रसारक च्यानल २४ ले सीमा रक्षकहरूको सङ्ख्या धेरै भएको बताएको छ ।
च्यानलले कम्तीमा ६६ जना अधिकारीले शरण मागेको र तीमध्ये १० जना घाइते भएको बताएको छ । “अराकान सेनाले रखाइन राज्यका एकपछि अर्को धेरै क्षेत्रमा कब्जा गरेको छ”, गृहमन्त्री खानले भने, “हाम्रो जानकारीअनुसार उनीहरू अगाडि बढिरहेका छन् ।”
सन् २०२१ को सैन्य विद्रोहपछि एए लडाकूहरूले ठूलो स्तरको युद्धविराम भङ्ग गरेसँगै बङ्गलादेशसँगको दुई सय ७० किलोमिटरको सीमा र उत्तरमा छिमेकी भारतनजिकै म्यान्माका केही भागमा नोभेम्बरपछि लगातार झडपहरू भएका छन् ।
अक्टोबरमा एए विद्रोही तथा अन्य जातीय अल्पसङ्ख्यक लडाकूहरूसहितको गठबन्धनले उत्तरी म्यान्मामा संयुक्त आक्रमण गरेर चिनियाँ सीमामा महत्त्वपूर्ण व्यापारिक केन्द्रमाथि कब्जा गर्यो । गत महिना गठबन्धनले चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको थियो तर लडाइँ जारी भएको बङ्गलादेशी र भारतीय सीमा नजिकैका क्षेत्रहरूमा उक्त युद्धविराम लागु हुँदैन ।
सीमा नजिकै बस्ने बङ्गलादेशी गाउँलेहरूले उनीहरूलाई युद्ध फैलिने डर भएको बताएका छन् । एमएसएफले हिंसाबाट प्रभावित सीमाका दुवैतर्फ रहने बासिन्दाका लागि चिन्ता व्यक्त गर्दै स्थितिको निगरानी गरिरहेको बताएको छ । गृहमन्त्री खानले बङ्गलादेशले आफ्नो सीमामा सुरक्षा बढाएको र सीमा अधिकारीहरूलाई फिर्ता गर्न म्यान्मासँग सम्पर्क गर्ने बताए ।
“हाम्रो सीमामा प्रवेश गर्ने जो कोहीलाई हिरासतमा लिनेछौँ र म्यान्मालाई सुम्पिने छौँ”, उनले भने । बङ्गलादेशमा पहिलादेखि नै करिब १० लाख रोहिङ्ग्या शरणार्थी रहेका छन् । उनीहरूलाई सन् २०१७ मा सैन्य कारवाहीमा म्यान्माबाट लखेटिएको थियो ।