मुख्यमन्त्री कप भलिबल : एपिएफ र कोशी विजयी



किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागियसहित चार टोली विजयी भएका छन् । आज भएका खेलमा एपिएफ, कोशी प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश विजयी भएका छन् । 

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल सङ्घको संयोजनमा सुरु भएको प्रतियोगिताको दोस्रो दिन आज पहिलो खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई २५–१६, २५–१८ र २५–१८ अङ्कले पराजित गरेको हो । 


दोस्रो खेलमा कोशीले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटमा हरायो । कोशीले उक्त खेल २५–१९, २५–१९, २१–२५ र २५–२० अङ्कले पराजित गरेको हो ।  यस्तै विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गर्यो । पुलिस क्लब उक्त खेलमा २५–१२, २५–१६ र २५–११ अङ्कले विजयी भयो । आजको चौथो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० सोझो सेटमा पराजित गर्यो । गण्डकीले सो खेल २५–१९, २५–१५ र २५–२१ अङ्कले जितेको हो । 

प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, तृतीय हुनेले रु ५० हजार र चौथो हुनेले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिता यही फागुन १९ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा विभागीय टोली आर्मी, एपिएफ र पुलिस क्लब तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, र कोशी सहभागी छ ।