मिर्चैया नगरपालिकामा तोडफोड



गोलबजार । सिरहाको मिर्चैया नगरपालिका आइतबार मध्याह्न १२ बजेतिर केही उच्छृङ्खल व्यक्तिबाट कार्यालयमा  तोडफोड भएको छ । नगर प्रमुख श्रवण यादवले  घटनाको घोर भत्र्सना गर्दै कारबाहीका लागि स्थानीय प्रशासनसमक्ष माग गरेका छन् ।

“मिर्चैया नगरपालिका–३ का वडाध्यक्ष पवित्रीदेवी यादवको पति खगेश्वर गोहीवार यादवसहित करिब ३०–४० जनाको समूहमा आएको  उच्छृङ्खल व्यक्तिले अन्धाधुन्ध ढुङ्गामुढा गर्न थालेपछि यस कार्यालयको झ्याल, ढोका, सिसीटिभी क्यामेरा, कम्प्युटर, मोटरसाइकललगायत महत्वपूर्ण सामग्री नष्ट भएको छ,” नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 


कुनै किसिमको माग नै नराखी यस नगरपालिकाभन्दा बाहिरको व्यक्तिलाई समेत सहभागी गराई आतङ्ककारी शैलीमा कर्मचारीलाई कुटपिट गर्ने मनसायले आक्रमण गरिएको नगरप्रमुख यादवले  बताएका छन् ।

भूमिहीनलाई निस्सा वितरण

सिरहाको लहान नगरपालिका–१५ का सात सय ७६ घरपरिवार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि लहान नगरपालिकाले नाप नक्साको निस्सा वितरण गरेको छ । 

निस्सा वितरण कार्यक्रममा नगर प्रमुख महेश चौधरी, नगर उपप्रमुख रामचलितर महतो, भूमि आयोगको अध्यक्ष रामअधिन यादव उपस्थिति थियो । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई केही महिनाभित्रै सबैले लालपुर्जा प्रदान गरिने नगरप्रमुख चौधरीले जानकारी दिए ।