माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, रुपान्तरण अभियानको विशेष समीक्षा हुने



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । अहिले बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी बैठक बोलाएको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार बैठक आज र भोलि सोमबारसम्म चल्नेछ । बैठकमा यसअघि पार्टीले सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ ।


साथै, बैठकमा समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे छलफल हुने भएको छ ।

माओवादीले चारमहिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । साथै, केन्द्रीय समिति बैठकमा पार्टीको समग्र अवस्थाका बारे पनि छलफल हुने बताइएको छ ।