मन्त्री ज्वालालाई कारबाहीको विषय आजै टुंगो लाग्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने विषय आजै टुङ्गिने बताएका छन् ।

मंगलबार बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका मुख्य जिम्मेवार व्यक्ति मन्त्री ज्वालाको विषय अध्ययन भइरहेको र अध्ययनपछि आजै यो विषयमा के गर्ने भन्नेबारे टुङ्गो लगाइने बताएका हुन् ।


बालकुमारी घटनाका विषयमा गठित जाँचबुझ आयोगले ज्वाला मुख्य जिम्मेवार रहेको निष्कर्ष निकालेपछि प्रतिपक्षी दलले उनलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन् । तर, हालसम्म न उनको राजीनामा आएको छ न त प्रधानमन्त्रीले नै बर्खास्त गरेका छन् ।

उनको विषयमा अब के हुने भन्नेबारे अन्यौलता रहेकै बेला प्रधानमन्त्रीले आजै यो विषय टुङ्गो लगाउने बताएका हुन् । कोरिया जान पाउनुपर्ने माग गर्दै इपीएस पीडित युवाहरुले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २ जनाले ज्यान गुमाएका थिए ।