मधेशका मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने



काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी आइतबार विश्वासको मत लिने भएका छन् । केन्द्रीय गठबन्धनमा भएको सहमतिअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

आज (शुक्रबार) बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले तत्काल मुख्यमन्त्री यादवलाई नै विश्वासको मत दिने निर्णय गरेसँगै उनले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका हुन् ।


मधेशमा जनमत पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको हो । मधेश प्रदेश सरकारको नेतृत्वमा केही समयदेखि कांग्रेसले दाबी गर्दै आएपनि तत्काललाई भने मुख्यमन्त्री यादवलाई नै विश्वासको मत दिन गठबन्धन दलहरु सहमत भएका छन् ।