भीम उपाध्यायसँग ४ करोड ११ लाख बिगो र १० वर्ष कैद सजायको मागदाबी



काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायसँग ४ करोड ११ लाख रुपैयाँ बिगो मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर भएको छ ।

मेलम्ची खानेपानीको तत्कालीन ठेकेदार सीएमसी कम्पनीलाई गैरकानुनीरुपमा पेस्की रकम दिएको भन्दै अख्तियारले पूर्व सचिव उपाध्यायसहित १८ व्यक्ति तथा फर्मविरुद्ध मुद्दा दायर गरेको हो ।


दायर गरेको भ्रष्टाचार मुद्दामा ती पूर्व सचिव सहितका व्यक्तिहरूलाई पेस्की रकम दिने क्रममा दिनुपर्नेभन्दा बढी रकम दिएको, कामै नगरी रकम दिई राज्यलाई हो नि नोक्सानी पुराएको लगायतको कसुरमा मुद्दा दायर भएको हो ।

अख्तियारले दायर गरेको मुद्दामा पूर्व सचिव भीम उपाध्यायसँग ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ ९२ पैसा रकम बिगो कायम गरी १० वर्षसम्म कैद सजायको मागदाबी लिइएको छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्यायले ३० लाख अमेरिकी डलर अर्थात् तत्कालीन समयमा ३२ करोड २८ लाख ६० हजार रुपैयाँ गैरकानुनीरुपमा ठेकेदार कम्पनी सीएमआरलाई पेस्कीबापत दिएको उल्लेख छ ।

तर पेस्की लिएर पनि काम नगरेपछि उक्त कम्पनीको बैंक ग्यारेन्टीबापत रकम फिर्ता ल्याएको भए पनि उसले चलाएको समयको ब्याजबापत ४ करोड ११ लाख रुपैयाँ राज्यलाई हानी नोक्सानी पुर्‍याएको उल्लेख छ ।

सचिव उपाध्यायको निर्णयबाट भएको हानीमध्ये सावाँ रकम बैंक ग्यारेन्टीबाट जफत भएको भए पनि ब्याज रकम राज्यलाई घाटा भएको र ठेकेदार कम्पनीलाई गैरकानुनी फाइदा पुराएको आरोप छ ।

सोही कसुरमा पूर्वसचिव उपाध्यायसँग ४ करोड ११ लाख रुपैयाँ ब्याज र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको दाबी लिइएको छ । दफा १७ अनुसारको कसुर भएकाले दफा ३ को ३झ अनुसार १ करोडभन्दा बढी रकम बिगो कायम भएकाले ८ देखि १० वर्षसम्मको कैद सजायको मागदावी लिइएको हो ।