भारतले आफ्नो चुनावमा हस्तक्षेप गरिरहेको क्यानडाको आरोप



भारतसँग जारी कूटनीतिक तनावका बीच क्यानडाले अर्को गम्भीर आरोप लगाएको छ । भर्खरै सार्वजनिक गरिएको प्रतिवेदन अनुसार क्यानडाको शीर्ष विदेशी गुप्तचर एजेन्सीले भारतले देशको चुनावमा सम्भावित हस्तक्षेप गरेको आरोप लगाएको छ। भारतमाथि क्यानडामा यस्तो कुनै गतिविधिमा संलग्न भएको आरोप लगाइएको यो पहिलो पटक हो ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गुप्तचर रिपोर्टमा लगाइएको आरोपको छानबिन गर्न आदेश दिएका छन् । रिपोर्टका अनुसार क्यानडाको एउटा प्यानलले त्यहाँको संघीय चुनावमा भारतको भूमिकाबारे छानबिन गर्नेछ। हालै प्यानलले जारी गरेको विज्ञप्तिमा सन् २०१९ र २०२१ मा क्यानडामा भएको संघीय निर्वाचनमा विदेशी हस्तक्षेपको छानबिन गर्ने आयोगले भारतसँग सम्बन्धित जानकारी उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।


क्यानडाको समाचार वेबसाइट ग्लोबल न्यूजका अनुसार क्यानडाको शीर्ष विदेशी गुप्तचर एजेन्सीले आफ्नो रिपोर्टमा भारतले देशको चुनावमा सम्भावित हस्तक्षेप गरेको आरोप लगाएको छ। आफ्नो प्रतिवेदनमा गुप्तचर निकायले भारतलाई ‘विदेशी हस्तक्षेपको खतरा’ भन्दै सरकारलाई देशको लोकतान्त्रिक संस्था र प्रक्रियाको रक्षाका लागि थप प्रयास गर्नुपर्ने बताएको छ। प्रतिवेदनमा यो विषयमा हस्तक्षेप नगरे अवस्था बिग्रने पनि उल्लेख छ ।

गत वर्ष सेप्टेम्बरमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्यामा भारतको भूमिकाको बारेमा कुरा गरेका थिए। क्यानडाको संसदमा बोल्दै उनले क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या र भारत सरकारबीचको सम्बन्ध रहेको आरोपमा क्यानडाका सुरक्षा निकायले सक्रियतापूर्वक अनुसन्धान गरिरहेको बताए ।

खालिस्तानी नेता हरदीप निज्जरको हत्यामा भारतको हात रहेको आरोप लगाउँदै क्यानडाले एकजना वरिष्ठ भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि दुई देशबीचको कूटनीतिक तनाव उत्पन्न भएको हो । त्यसपछि भारतले क्यानडाका शीर्ष कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको थियो ।

केही दिनपछि भारतले क्यानाडालाई आन्तरिक मामिलामा हस्तक्षेप र क्यानाडाली कूटनीतिज्ञको संख्या बढी भएको भन्दै आफ्ना कूटनीतिज्ञको संख्या घटाउन आदेश दिएको थियो । त्यसपछि क्यानडाले भारतमा रहेका आफ्ना ४१ अतिरिक्त कूटनीतिज्ञलाई फिर्ता बोलाएको थियो ।