बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उद्घाटन गरेको दुई वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । महानगरले हालै धरहरामा निःशुल्क पार्किङ सुरू गरेपछि त्यसलाई बन्द गर्न पत्र आएको भन्दै उनी आक्रोशित बनेका हुन् ।

उनले सोमबार सामाजिक संजालमार्फत भनेका छन्, ‘२०७८ वैशाख ११ शनिबार अर्थात् आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो । सोही उदघाटनलाई काठमाडौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपी ओलि टावर भन्थे ।’ तर केहिदिन अगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ’धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’ उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलिले भन्नुभएको थियो ’नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’


उनले तोकिएको समयमा काम सम्पन्न नहुने र भित्तामा नाम लेख्न हतारोमा निर्णय भई उद्घाटन गर्ने प्रवृत्तिलाई भ्रष्टाचारको नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उद्घाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ । सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।’

उनले आफू काठमाडौ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पति प्रयोग हुन नदिने बताएका छन् । उनले भनेका छन्, ‘अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निःशुल्क सन्चालन हुँदै छ, अझै व्यवस्थापन गर्दै लग्नेछौं । अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पति प्रयोग हुन दिने छैनौं ।’