प्रधानमन्त्रीलाई ओलीको प्रश्नः ७० वर्षसम्म नसच्चिएको कहिले सच्चिने ?



धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा भएको बताएका छन् । आइतबार पार्टीको कैलाली जिल्लाको नवौं अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारले कुनै गतिलो काम गर्न नसकेको बताएका हुन् ।

उनले भने, ‘यो निकम्मा सरकार हो, यसले केही काम पनि गर्न सक्दैन । हामीले ३९६ वटा अस्पताल हरेक पालिकामा हुनुपर्छ भनेका थियौं । कहाँ गए ती अस्पताल ?’ अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले देखाउन लायक एउटा पनि काम गर्न नसकेको जिकिर गरे ।


उनले भने, ‘प्रधानन्त्रीले एउटा पनि देखाउन लायक काम गर्नुभएको छैन । एक वर्ष पुग्दा भाषण गर्दा पनि हामी काम गर्छौं, सच्चिन्छौं भन्नुहुन्छ । ७० वर्ष पुग्न लाग्नुभयो, अहिलेसम्म नसच्चिएको कहिले सच्चिने हो ?’

उनले मुलुकको स्वाधीनता र स्वतन्त्रता कमजोर भएको बताए । सरकारले गलत काममा संलग्नहरूलाई पनि कारबाही गर्न नसकेको ओलीको भनाइ थियो ।