काठमाडौं । राष्ट्रियसभाका सांसद नरबहादुर विष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यले अपराध गरेको भन्दै कारबाहीको माग गरेका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले न्यायाधीश आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको भन्दै आक्रोश पोखेका हुन् । उनले न्यायाधीश आचार्यलाई सरुवा गरेर नहुने भन्दै दण्डित गर्नुपर्ने बताए ।
उनले भने, ‘आज भ्रष्टाचारीलाई कारबाही गर्दै गर्दा न्यायालयले २ दिनमै छोड्यो । कार्यपालिकाले गरेका कामहरुलाई पनि हस्तक्षेप गर्ने जुन न्यायपालिकामा अवस्था छ। अरुण चौधरीलाई दुई दिनभित्रै छोड्ने न्यायाधीश कारबाहीस्वरुप मुगु सरुवा भए रे । त्यो अनैतिक हो, भ्रष्टाचारी हो, त्यो अपराधीलाई दण्ड दिने ठाउँमा उसलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्दथ्यो । सरुवा गरेर त त्यहाँ पनि त त्यस्तै गर्ला उसले। त्यसैले यो बिडम्वनाको कुरा हो।’
उनले अपराधीलाई दण्ड दिनुपर्ने भन्दै सरुवाको सट्टा न्यायाधीशलाई कारबाही गर्नुपर्ने बताए । बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण कुमार चौधरीलाई म्याद थप्न आनाकानी गर्दै दुई दिनभित्र रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगुमा काज सरुवा भएको छ ।