काठमाडौं । धादिङको थाक्रे गाउँपालिकामा भएको बोलेरो दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने चालक सहित ५ जना घाइते भएका छन् ।
नौबीसेबाट काउलेका लागि गुडेको बा १६ च ८११३ नम्बरको बोलेरो काउलेमा दुर्घटना हुँदा थाक्रे–८ काउलेका ८० वर्षीय शेरबहादुर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
मृतक तामाङको शव पोष्ट मार्टमका लागि गजुरी अस्पताल लगिएको छ । आज दिउँसो भएको दुर्घटनाका घाइते हुनेहरूमा सोही ठाउँका चालक विष्णु स्याङताङ सहित शरण तामाङ, विष्णु तामाङ, शर्मिला तामाङ र राम विश्वकर्मा रहेका छन् ।
घाइतेहरूको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सिङ्गल क्याबिनको उक्त बोलेरो सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।