देशले नयाँ कोर्षको माग गरिरहेको छ : झलनाथ खनाल



काठमाडौं । सत्तारूद दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देशले नयाँ कोर्षको माग गरेको टिप्पणी गरेका छन् । उनले अहिलेको सत्ता गठबन्धन सरकारप्रति पार्टीमा ठूलो असन्तुष्टि रहेको पनि बताएका छन् ।

पछिल्लो समय कांग्रेस र माओवादीबीच खटपट सुरु भएको चर्चा चलिरहेको बेलामा सत्ता गठबन्धनको मुख्य घटक एकीकृत समाजवादीका सम्मानित नेता खनालले देशले नयाँ कोर्सको माग गरेको औंल्याएका छन् ।


एमाले अध्यक्ष केपी शर्मा ओलीपनि हिजोमात्रै प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर सहकार्यको प्रस्ताव गरेको बताईएको छ । यस्तो अवस्थामा खनालले नयाँ कोर्षको आवश्यकत्ता औंल्याएका हुन् । आज (बुधबार) ओलीको गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन् ।

उनले भने,‘देशले नयाँ कोर्षको माग गरिरहेको छ । देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ । त्यो माग अहिले सर्वत्र व्याप्त छ । सरकारले जस्ता नीति र कार्यक्रम ल्याएको छ । यसले जनतालाई छोएको छैन । हाम्रा दुई जना मन्त्रीहरु हुनुहुन्छ, त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु ? हामी निमित्तमा सहभागी छौँ । तर यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत असन्तुष्टि छ ।’