डा. शेखरको प्रश्न- कांग्रेस कम्युनिष्टहरुको पछि लागेर कहिलेसम्म हिँड्ने हो ?



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूहरू सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो ? भन्दै पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् । 

जिल्ला जिल्लामा पार्टीका साथीहरूले आफूलाई सो प्रश्न गर्ने गरेको उल्लेख गर्दै त्यसको जवाफ दिने गरी पार्टीको महासमिति बैठकमा प्रस्तुत हुन पनि उनले नेताहरूलाई आग्रह गरेका छन् । 


काँग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी सोमवार (भोलि)बाट सुरु हुने महासमिति बैठकमा गम्भीर रूपमा छलफल हुनुपर्ने नेता कोइरालाको भनाई थियो ।

पार्टी महासमिति बैठकको अघिल्लो दिन आइतबार काठमाडौँमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले ‘जनमत घटिरहेका बेला सरकारमा बसेका छौँ भनेर काँग्रेसले खुसी हुनुपर्ने कुनै कारण नभएको’ दोहोराएका छन् । 

उनले महासमिति बैठकमा निर्वाचन प्रणालीमा सुधार ल्याउने विषयमा पनि महासमिति बैठकमा छलफल गर्नुपर्ने बताए । विद्यमान निर्वाचन प्रणालीले कुनैपनि राजनीतिक दलको बहुमत आउन नसक्ने भएकाले त्यसमा सुधार गरेर अघि बढ्न काँग्रेसले सबै राजनीतिक दलसँग छलफलका लाग अग्रसरता दिनुपर्ने नेता कोइरालाको प्रस्ताव छ। उनले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा रहेको उल्लेख गर्दै रेमिटेन्स अर्थतन्त्रको विकल्प खोज्ने गरी निष्कर्षमा पुग्न पनि काँग्रेस महासमिति बैठकले ठोस निर्णय लिनुपर्ने बताए ।

कांग्रेस इतर पक्षका नेता कोइरालाले भने, ‘म जिल्ला जिल्ला घुम्दा खेरी साथहरुको एउटै प्रश्न हुन्छ–के हामी सधैँ कम्युनिस्ट पछि लागेर हिँड्ने हो? यो प्रश्न उठाइरहनु हुन्छ। हामीले एक्लै चुनाव कहिले लड्ने हो? भनेर सोध्नुहुन्छ ।’

डा. कोइराला भन्छन्, ‘हामी स्थानीय तहमा, प्रदेशमा र केन्द्रमा हामी सरकारमा छौं। बहुमतमा छौँ चारैतिर। तर हाम्रो भोट प्रतिशत घट्दै गइरहेको अवस्था छ। त्यो किन घट्यो ? भन्ने कुरा अत्यन्त गम्भीर छ।’

उनले  कांग्रेसको भोट ३४-३५ प्रतिशतबाट घटदै घटदै २७ प्रतिशतमा आएको उल्लेख गर्दै भने, ‘यो किन घटिराखेको छ भनेर हामीले विश्लेषण गरिराखेका छैनौँ । हामी के मा रमाइराखेका छौ भने केन्द्रमा सरकारको नेतृत्व त हामीले गरेको छैन। तर १० वटा मन्त्रालय त हामीसित छ । यो कुरालाई तपाई महासमितिका साथीहरूले अत्यन्तै गम्भीर रूपले छलफल गर्नुहोला ।’