जग्गा उपलब्ध नहुँदा पशुका लागि होल्डिङ सेन्टर निर्माण हुन सकेन



भरतपुर (चितवन) । चितवनमा जग्गा उपलब्ध नहुँदा अहिलेसम्म पशुका लागि होल्डिङ सेन्टर निर्माण हुनसकेको छैन । उक्त सेन्टर निर्माणका लागि बजेट विनियोजन भए पनि जग्गा उपलब्ध नहुँदा फिर्ता गएको हो ।

पशु विभागले चितवनको रामनगरमा उक्त सेन्टर निर्माण गर्न अघिल्लो वर्ष बजेट विनियोजन गरे पनि खर्च नहुँदा रकम फिर्ता भएको रामनगरस्थित पशु क्वारेन्टाइनका प्रमुख शिरिष गौतमले जानकारी दिए ।


“विसं २०७८ मा होल्डिङ सेन्टर निर्माण गर्न तीन करोड ८० लाख आएको थियो । जग्गा नै नपाएपछि रकम फ्रिज भयो”, उनले भने, “अहिले पनि जग्गा भाडामा लिनका लागि दुई लाख ४० हजार आएको छ, तर जग्गा अहिलेसम्म पाइएको छैन । होल्डिङ सेन्टरका लागि राजमार्ग छेउ जग्गा आवश्यक पर्दछ तर यस्ता ठाउँमा जग्गा पाउन कठिन छ ।”

महिनामा एक हजारभन्दा बढी पशुपक्षीका गाडी चितवन हुँदै राजधानी जाने गरेका छन् । त्यसमध्ये राँगा र भैँसीमात्रै दुई सय ५० ट्रक जाने गरेको प्रमुख गौतमले बताए । “राँगाभैँसी ढुवानी गर्दा कुनैले पनि ढुवानी मापदण्ड पालना गर्दैनन् । कसले कति गरेका छन् भन्ने मात्र हो”, उनले भने, “अली बढी नै मापदण्ड पालना नगर्नेहरूबाट छ महिनामा रु एक लाख २८ हजार जरिवाना उठाएका छौँ । पशु झार्ने ठाउँ नहुँदा जाँच गर्नसमेत कठिन भएको छ ।”

नेपालमा पशु क्वारेन्टाइन नहुँदा पशु ढुवानीमा समस्या हुनाका साथै पशुलाई ३० घण्टाको निरन्तर यात्रा गराउन बाध्य भएको व्यवसायीहरूले बताए । देशका मुख्य राजमार्गमा पशुका लागि दानापानी खुवाउनका लागि होल्डिङ सेन्टर नहुँदा समस्या हुँदै आएको पशु ढुवानी व्यवसायी श्रीजन खड्गीको भनाइ थियो ।

“अहिले पशुलाई ज्यादै दुःख दिएर व्यवसायीले लामो यात्रा गराइरहेका छन्”, उनले भने, “कम्तीमा मुख्य राजमार्गको किनारमा आठ–आठ घण्टाको अन्तरमा दानापानी खुवाउन यस्ता सेन्टर भइदिए पशुले समेत दुःख पाउने थिएनन् ।”

पशु ढुवानी मामदण्ड, २०६४ ले पशुलाई दैनिक आठ घण्टाभन्दा बढी गाडीमा ढुवानी गराउन पाइँदैन भनेको छ । तर कतिपय व्यवसायीले दानापानीसमेत नखुवाई कैलालीबाट राजधानीसम्म पुर्याउने गरेका छन् । अहिलेको अवस्थामा यो मापदण्ड कार्यान्वयन गर्न कठिन हुने नेपाल पशुपक्षी व्यवसायी सङ्घका महासचिव किशोरप्रसाद शर्माले बताए ।

“नेपालमा पूर्ण पशु कल्याण सम्भव छैन । आंशिक कल्याणका लागि ठाउँ–ठाउँमा होल्डिङ सेन्टर बनाउन जरुरी छ”, उनले भने, “व्यवसायीहरू यसका लागि सहयोग गर्न तयार छन् तर गैँडाकोट वा चितवन कुनै एक ठाउँमा मात्र पनि होल्डिङ सेन्टर भए पशु तथा व्यवसायी दुवैलाई फाइदा हुने थियो ।