छाडा कुकुर व्यवस्थापनका लागि एक करोडको लागतमा कुकुर होस्टेल बनाइँदै



काठमाडौं । बागलुङ नगरपालिकाले छाडा कुकुर व्यवस्थापनका लागि रु एक करोड लागतमा कुकुर होस्टेल निर्माण गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुकुरलाई पालनपोषणसहितको होस्टेल बनाउने उल्लेख गरेको थियो ।

यसका लागि नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यही माघ २५ गते सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए। नगरपालिकाको रु ३५ लाख र मुख्यमन्त्री कार्यालयको रु ६५ लाख बजेटमा सो होस्टेल निर्माण गर्न लागेको हो ।


उनका अनुसार होस्टेल निर्माण गरी असारभित्रै कुकुरका व्यवस्थापन गरिनेछ । होस्टेलमा पशु चिकित्सकसहित हेरचाह गर्ने मानिसको समेत व्यवस्थापन हुनेछ । कुकुर होस्टेल निर्माण गर्न जग्गा खोजीरहेको नगरपालिकाले जनाएको छ ।

बागलुङ बजारमा छाडा कुकुरको बिगबिगी भएकाले दीर्घकालीन नियन्त्रणका लागि पाँच रोपनी जग्गामा होस्टेल बनाउन लागिएको हो नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठको भनाई छ ।