टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले गाजा पट्टीमा जारी इजरायली आक्रमणको प्रतिक्रियामा एकताबद्ध भएर काम गर्न इस्लामिक देशहरूलाई आह्वान गरेका छन् ।
इस्तानबुलमा आयोजित इस्लामिक सहयोग युवा मञ्चको पाँचौं महासभालाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उनले इजरायली क्रूरता विरुद्ध एकजुट हुन आह्वान गरेका हुन् । इजरायलले गरेको मानवता विरुद्धको अपराध र युद्ध अपराधलाई अन्तराष्ट्रिय क्षेत्रमा नजरअन्दाज नगर्ने कुरा सुनिश्चित गर्न कडा मेहनत गरिरहेको उनले बताएका छन् ।
यसैबीच उनले स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र विश्वव्यापी रूपमा मान्यता प्राप्त प्यालेस्टाइन राज्यको स्थापनालाई समर्थन गर्ने टर्कीको प्रतिबद्धता दोहोर्याएका छन् । हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा एक्कासी आक्रमण गरी १ हजार २ सय जनाको हत्या गरेपछि इजरायलले हमास–शासित गाजा विरुद्ध ठूलो सैन्य आक्रमण गरिरहेको छ ।