कार्कीको फर्स्ट बेञ्चर खरदार र लास्ट बेञ्चर मुख्यमन्त्रीको भाषण उन्मादपूर्ण र निचः कर्मचारी संगठन



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक विद्यालयको समारोहमा दिएको अभिव्यक्ति विवादित बनेपछि कर्मचारी संगठनले आपत्ति जनाएका छन् ।

मोरङको सुन्दरहरैँचा नगरपालिका-६ दुलारीस्थित साजिलाल माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव समारोहमा दिएको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी संगठन मोरङले आपत्ति जनाएको छ ।


बिहीबार संगठनका अध्यक्ष ओमराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कार्कीले फर्स्ट बेन्चमा बस्ने साथी निजामती कर्मचारीको खरिदार हुँदा लास्ट बेन्चमा बस्ने आफू मुख्यमन्त्री भएको भाषणप्रति गम्भीर आपत्ति जनाएका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्रीले एक शैक्षिक कार्यक्रममा दिएको अभिव्यक्तिले सिंगो राष्ट्रसेवक क्षेत्रलाई दुःखित बनाएको सुवेदीको भनाइ छ । उनले भनेका छन् ‘प्रतिस्पर्धामा श्रेष्ठता खोज्ने हामी तमाम राष्ट्रसेवकहरु हजारौको प्रतिष्पर्धामा आफुलाई अब्बल र श्रेष्ठ सावित गर्न सफल भएर राष्ट्रसेवाका विभिन्न तहमा वसी नागरिक सेवा प्रदान गरी आएका छौं’ ।

उनले विज्ञप्तिमा थप भनेका छन् ‘योग्यता प्रणालीमा विश्वास गर्नेहरु प्रतिको मुख्यमन्त्रीज्यूको कोरा अपरिपक्क हचुवा अभिव्यक्तिले सवै तहका राष्ट्रसेवकहरुको शिर निहुरिएको छ । कडा मेहनेत र परिश्रमबाट प्रतिष्पर्धामा आफूलाई अब्बल सावित गर्दै सार्वजनीक प्रशासनको मुल आधार स्तम्भ रहेको खरदार र सुब्बा तहका राष्ट्रसेवकको उदाहरण दिँदै मुख्यमन्त्रीज्यूले व्यक्त गर्नु भएको विचार आफैमा अपरिपक्व उन्मादपूर्णकोरा अभिव्यक्ति हो यस्तो निच भनाईप्रति नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति मोरङको गम्भीर ध्यानाकर्षण भएको छ । कलिला स्कुले वालवालिकाहरुलाई अगाडी राखेर मुख्यमन्त्रीज्यूले दिनु भएको यस्तो अभिव्यक्तिले वालवालिकामा कस्तो प्रेरणा मिल्छ होला ? अघिल्लो बेन्चमा वसेर मेहनत गर्नेहरु खरदार मात्रै हुन्छन पछिल्लो बेन्चमा वसेर लखुवागिरी गर्नेहरु मन्त्री, मुख्यमन्त्री बन्छन् भन्ने अभिव्यक्तिले वालवालिकामा कस्तो सन्देश प्रवाह हुन्छ ? मेहनत गर्नु, उत्कृष्ट बन्नु राम्रो अंक प्राप्त गर्नु मात्रै योग्यता होईन भन्ने अभिव्यक्तिले के सन्देश दिन खाजेको हो ? राजनीति गर्ने सबै व्यक्तिहरु ब्याक बेन्चर भएर लखुवा भै हिड्नेहरुमात्रै हुन त ? एउटा खरदार र सुब्बा वा जुनसुकै तहको राष्ट्रसेवक मेहनत साथ लागेमा तपाईहरु जस्तो मन्त्री मुख्यमन्त्री बन्न सक्छ तर तपाईहरु यो जुनीमा खरदार, सुब्बा वा अन्य कुनै प्रकारको राष्ट्रसेवक बन्न सक्नु हुन्न यही हो योग्यता र क्षमता अनि व्याक बेन्चर र फष्ट बेन्चर बीचको फरक सिङ्गापुरका लिक्वान ई, मलेसियाका मोहम्मद महाथीर व्याक बेन्चर भएर मुलुक निर्माण गरेका होइनन् । अलवर्ट आइन्टाइन, चाल्स डार्विन, हर्वट स्पेन्सर व्याक बेन्चर भएर सिद्धान्त प्रतिवादन भएको होइन, तसर्थ प्रतिष्पर्धा, योग्यता प्रणालीप्रति तपाईको बुझाई अत्यन्तकमजोर सावित भयो । निजामती, सेना, प्रहरी, शिक्षक, सार्वजनिक संस्थानमा कार्यरत सवै तहका राष्ट्रसेवकहरु कुनै नकुनै तहको प्रतिष्पर्धा पूर्ण परीक्षामा आफूलाई उत्कृष्ट सावित गरेर आएका हुन उनीहरु सेलेक्टेड ब्रेन हुन । तसर्थ योग्यता क्षमतालाई मानमर्दन गर्ने यहाँको अभिव्यक्तिप्रति कति आलोचना गरे पनि कम हुन सक्छ । योग्यताको कदर र सम्मान भित्र तपाईको पनि योग्यता झल्किन्छ त्यसैले यहाँले भाववेशमा आएर दिनु भएको यो अपरिपक्व अभिव्यक्ति फिर्ता लिएर सबै राष्ट्रसेवकहरुको आत्म सम्मानमा पुगेको चोटप्रति क्षमा याचना गर्नु नै बुद्धिमानी हुन्छ आफू मातहतका तमाम राष्ट्रसेवकहरुको इज्जत सम्मानले नै मुख्यमन्त्रीको पदिय गरिमा बढ्छ । तसर्थ यस्ता अभिव्यक्तिहरु सुधार गरी राष्ट्रसेवकहरुलाइ उच्च मनोवल र आत्म सम्मानका साथ कार्य स्थलमा सेवा गर्ने वातावरण निर्माण गर्न नेपाल निजामती कर्मचारी संगठन मोरङ हार्दिक अनुरोध गर्दछ’ ।

उनले भाषणक्रममा भनेका थिए ‘फर्स्ट बेन्चमा बस्ने ऊ खरदार भयो, म लास्ट बेन्चमा बस्ने मुख्यमन्त्री भएँ कक्षा कोठामा लिने ज्ञान विविध हुन्छन्, ज्ञानको मापन केवल प्रमाणपत्रमा मात्रै हुँदैन। प्रमाणपत्रको अंकले ज्ञानको मापन हुँदैन। म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ। फर्स्ट बेन्चमा बस्नेले केबल लेख्न९पढ्न मात्रै जान्यो, ऊ अहिले खरिदार छ, म अहिले मुख्यमन्त्री छु,’ उनले भनेका थिए, ‘उसले कसरी हुन्छ भुँडी भर्न मात्रै जान्यो।’

उनको यो भाषणले कतिपय शिक्षक र कर्मचारीहरूको चित्त दुखेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा उनीहरूले कार्कीले आफूलाई होच्याउने काम गरेको भन्दै आलोचना पनि गरेका छन्।