ओलीको टिप्पणी : नैतिकता नभएका मन्त्री, हुतीहारा प्रधानमन्त्री



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा संलग्न रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पदबाट राजीनामा नदिएको भन्दै चर्को आलोचना गरेका छन् ।

आजबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नैतिकता नभएको मन्त्री र हुतीहारा प्रधानमन्त्रीबाट राजीनामाको आश गर्नुमात्र भएको टिप्पणी गरेका छन् ।


‘भ्रष्टाचारमा झण्डा हल्लाउँदै मन्त्री बयान दिने, मानिस मरेको घटनामा मन्त्री दोषी हुने तर मन्त्रीहरुले पद नछोड्ने र प्रधानमन्त्रीले पनि हटाउन नसक्ने’, ओलीले भने, ‘दोषी मन्त्री हो भनेर आयोगले भनेको छ । यस्तो बेला नैतिकता नभएको मन्त्री हुतीहारा प्रधानमन्त्री ।’ उनले सरकार आफैँले बनाएको आयोगले दोषी करार गर्दा समेत त्यस्तो मन्त्री बसिरहन मिल्छ, लोकलाज छैन ? उनले प्रश्न गरे ।

आयोगले बनाएको आयोगको दोषका कारण मान्छेले ज्यान गुमाएको भन्दै त्यस्ता मन्त्री पदमा बस्न नहुने उनको भनाइ छ। पुस १३ गते बालकुमारीमा एपीएस भाषा परीक्षाका अन्दर्भमा पीडितहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा प्रहरी गोली चलाउँदा वीरेन्द्र शाह र सुजन राउतको ज्यान गएको थियो ।

२ युवाको ज्यान जानेगरी भएको घटनामा सरकारले छानबिन समिति गठन गरेको थियो । पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा गठित छानबिन समितिले उक्त घटनामा मन्त्री ज्वालाको पनि प्रत्यक्ष संलग्नता रहेको ठहर गरेको थियो । छानबिन समितिको प्रतिवेदनपछि मन्त्री ज्वालाले राजीनामा दिनुपर्ने माग चौतर्फी बढ्दै गएको छ । तर, मन्त्री ज्वाला भने राजीानामा दिनुको साटो बचाउमा उत्रिएका छन् ।