एमालेले संसद् बैठक अवरोध जारी राख्ने



काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आइतबारको प्रतिनिधि सभा बैठक पनि अवरोध गर्ने भएको  छ ।

बालकुमारी घटना, टेरामक्स प्रकरण र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने विषयमा प्रश्न उठेका मन्त्रीहरूको राजीनामा माग्दै आजको बैठकमा विरोध जारी राख्ने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।


नेकपा एमालेले टेरामक्स प्रकरणमा मुछिएर अख्तियारमा बयान दिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने पर्यटन मन्त्री सुदन किरातीको राजीनामा माग्दै सदन अवरोध गरिरहेको छ ।

प्रतिनिधि सभाको बैठक आइतबार ११ बजे बस्दै छ । आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । त्यसैगरी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।