उपनिर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक



काठमाडौं । निर्वाचन आयोगले आज (बुधबार)देखि मतदाता नामावली अद्यावधिक गर्दैछ । वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका लागि आगामी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले तयारी गरेको हो ।

आयोगको कार्यतालिकाअनुसार फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई दलदर्ताका लागि सूचना प्रकाशन हुनेछ । यसैगरी चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।


चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । चैत २४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।