आममाफीको निर्णय विवादमा परेपछि हंगेरीकी राष्ट्रपतिद्वारा राजीनामा



रोयटर्स । हंगेरीकी राष्ट्रपति काटालिन नोभाकले राजीनामा दिएकी छन् । बाल यौन शोषणको मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई माफी दिने निर्णय विवादमा परेपछि कन्जरभेटिभ राष्ट्रपति नोभाकले राजीनामा दिएकी हुन् ।

हंगेरीमा सरकारले सञ्चालन गरेको बालगृहमा बालबालिकामाथि यौनशोषण गरेको अभियोगमा त्यहाँको प्रमुखलाई ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त घटनालाई लुकाउन भूमिका खेलेको अभियोकमा उनका सहयोगीलाई पनि जेल सजाय सुनाएको थियो ।


गत वर्षको अप्रिलमा पोप फ्रान्सिसको हंगेरी भ्रमणको अवसरमा राष्ट्रपति नोभाकले ती व्यक्तिसहित दुई दर्जनलाई माफी दिएकी थिइन् । जघन्य अपराधका मतियारलाई आममाफी दिएपछि हंगेरीमा एक साता अघिदेखि राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन भएको थियो ।चर्को आलोचनापछि उनले शनिबार माफी माग्दै पदबाट राजीनामा दिएकी हुन् ।