आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने



काठमाडौं। संसदमा पेस भएको आर्थिक वर्ष २०८१-८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’माथि सात दिदन छलफल हुने भएको छ।

सोमबार बसेको प्रतिनिनधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन्।


उक्त प्रस्तावमाथि छलफल गर्न सभामुख देवराज घिमिरेले सात दिनको समय तोकेका हुन् । बैठकमा उनले सो प्रस्तावमाथि यही फागुन २१, २२, २३, ३० र चैत १, २ र ४ गते छलफल हुने जानकारी गराएका हुन्।

दलीय आधारमा छलफल गरिने भएकाले छलफलमा भाग लिने आ–आफ्ना वक्ताको नाम बैठक सुरु हुनुभन्दा एक घण्टा अगाडि नाम टिपाउन उनले भनेका छन्।

साथै सभामुख घिमिरेले छलफलका क्रममा सांसदहरुले दिएको सुझावको टिपोट गर्न अर्थमन्त्रालय र संघीय संसद सचिवालयलाई पनि निर्देशन दिएका छन्।