काठमाडौं । सुनको अवैध पैठारी(तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ तथा बयान लिएको छ । अझै केही व्यक्तिसँग सोधपुछ बाँकी रहेको भन्दै आयोगले फागुन मसान्तसम्म म्याद थपका लागि सरकारलाई पत्राचार गरेको छ ।
शृंखलाबद्ध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको खुलेपछि १५ असोजमा सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग गठन गरेको थियो । सुरुमा तीन महिनाको समय दिइएकोमा दुई महिना थप गरियो । थप गरिएको समयमा पनि आयोगले छानबिन नसकिएको जनाएको छ ।
अनुसन्धान र प्रतिवेदन लेखनका लागि भन्दै आयोगले थप १५ दिनको समय मागेको हो । आयोगले विमानस्थलबाट ब्रेक सु तथा विद्युतीय चुरोटमा राखेर सुन तस्करी गरेको अभियोगमा मुद्दा दायर गरिएका ३२ जनासँग बयान लिएको थियो । यस्तै, अनुसन्धानमा तानिएका, तर मुद्दा दायर नभएका २१ जनाको पनि बयान लिइएको आयोगका एक अधिकारीले बताए ।
यसअघिको सुन तस्करीमा संलग्न चूडामणि उप्रेती ‘गोरे’लाई पनि कारागारबाट झिकाएर आयोगले सोपधुछ गरेको छ ।
सुन तस्करीका घटनाको अनुसन्धानमा आबद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)का ६ प्रहरी अधिकारीसँग पनि आयोगले सोधपुछ गरेको थियो । कतिपय प्रहरीको शंकास्पद भूमिका देखिएको विषयमा समेत सोधपुछ गरिएको आयोग स्रोत बताउँछ ।
सुन तस्करीमा संलग्न राजनीतिक नेतृत्वसम्म पुग्न नसकेको आरोप सिआइबीमाथि लागेको छ । राजस्व, बैंकिङ, अनुसन्धान एवं अभियोजनका ३३ जना विज्ञसँग तथा सुनचाँदीसँग सम्बन्धित १८ जना प्रतिनिधिसँग आयोगले छलफल र परामर्श गरिसकेको छ । केही शंकित व्यक्तिको मोबाइल लिएर आयोगले आफैँ प्रहरीको विधि विज्ञान प्रयोगशलामा परीक्षणका लागि पठाएको छ ।
साथै, यसअघि नेपाल प्रहरीको सिआइबीले अनुसन्धानका क्रममा लिएको कल डिटेल तथा मोबाइलको डिजिटल फरेन्सिक ल्याब(डिएफएल) रिपोर्टसमेत मगाइएको, तर प्राप्त नभएको आयोगका एक अधिकारीले बताए ।