सरकारको सम्पूर्ण ध्यान अर्थतन्त्रलाई लयमा फर्काउनेतर्फ केन्द्रीत छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको सम्पूर्ण ध्यान अर्थतन्त्रलाई लयमा फर्काउनेतर्फ केन्द्रीत रहेको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले अर्थतन्त्रका कतिपय सूचकहरु सकारात्मक रहेपनि पूर्ण रुपमा चलायमान नभइसकेको बताए ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले अर्थतन्त्रका कतिपय परिसूचकहरु सकारात्मक रहेका छन् । कतिपय परिसूचकहरु सकारात्मक रहँदा रहँदै पनि अर्थतन्त्रको समग्र क्षेत्र समस्या मुक्त भने भएको छैन । अर्थतन्त्र पूर्ण रुपमा चलायमान भइसकेको छैन भन्ने सरकारको मूल्याङ्कन छ । एक वर्षअघि सोधान्तर घाटा उच्च विन्दुमा पुगेको थियो । विदेशी मुद्राको सञ्चिति न्यून विन्दुमा झरेको थियो । बैंकिङ क्षेत्रमा तरलताको अभाव रहेको, व्याजदर उद्योग व्यवसायीले धान्न नसक्ने अवस्थामा पुगेको र मूल्य वृद्धि पनि उच्च रहेको अवस्था थियो । अर्थतन्त्र त्यस खालको शंकटबाट मुक्त भएको छ । तर, उत्पादन, रोजगारी र सरकारको खर्चबाट अर्थतन्त्रलाई पूर्ण लयमा फर्काउने तर्फ चुनौति भने अझै कायम छ । अहिले सरकारको सम्पूर्ण ध्यान यसैतर्फ केन्द्रीत छ ।’


प्रधानमन्त्रीलाई गगनको प्रश्नः सरकारले के काम गर्यो र विप्रेषण बढ्यो ?

आफूले हरेक मन्त्रालयहरुसँग सार्वजनिक सेवा प्रभाव, विकास निर्माण र त्यसको प्रभावकारिताको विषयमा दिनहुँजसो समाधानमुख छलफल गरिरहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले नेपालको अर्थतन्त्र सुधारका लागि निकै महत्वपूर्ण छलफल आयोजना गरेर निश्कर्षसमेत निकालेको बताए । अबको केही महिनामा यस्ता प्रकारको सकारात्मक प्रभाव अंकमा नै सुनाउन सक्ने विश्वास लिएको उनले बताए ।

बजेटले सुरुमा अनुमान गरेअनुसार राजश्व प्राप्त नहुनुमा आन्तरिक उपभोग र आयात घट्नुलगायतका कारण रहेको बताए । आगामी दिनमा स्रोत बढाउन सरकारले राजश्व प्रशासनमा थप सुधार गर्ने र विदेशी सहायताको परिचान बढाउनेतर्फ सरकारले विशेष पहल लिइरहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले राजश्व छली, अवैध कारोबार नियन्त्रण गर्न विशेष रुपमा सरकार कडा रुपमा प्रस्तुत हुने बताए । यसबाट राजश्वप्राप्तिमा थप योगदान हुने उनले बताए । साथै, पुँजीगत खर्च हुन नसक्नुको कारण पहिचान भएको र अब थप प्रभावकारी हुने उनले बताए ।