संक्रमित फोहोर उत्पादकले नै व्यवस्थापन गर्नुपर्ने



काठमाडौं। काठमाडौं महानगरपालिका (कामपा)ले संक्रमित, रसायनयुक्त, हानिकारक फोहोर उत्पादकले नै व्यवस्थापन गर्नुपर्ने बताएको छ।

कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानिकारक फोहर व्यवस्थापनसम्बन्धी व्यवस्था छ। ऐनको दफा २० बमोजिम हानिकारक, स्वास्थ्य संस्थाजन्य, रासायनिक वा औद्योगिक फोहरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्ने महानगरपालिकाले जनाएको छ।


कामपाको उपप्रमुख सुनिता डङ्गोलका अनुसार सहरी वातावरणमा महसुसयोग्य सुधार गर्नुपर्छ। यस कार्यका फोहर उत्पादकहरुले दायित्वबोध गरेर नागरिक र कानुनी दायित्व पूरा गरी फोहाेरको दिगोरुपमा व्यवस्थापन गर्नुपर्ने छ।

सोहीअनुरुप कामपाले पछिल्लो एक सातादेखि अस्पतालजन्य फोहाेर व्यवस्थापन विषयमा अनुगमन सुरु गरेका छ। ‘अस्पतालजन्य फोहाेर अन्य फोहरभन्दा बढी हानिकारक हुन्छ’, उनले भनिन्, ‘यसको सही व्यवस्थापन गर्न आवश्यक छ ।’ अस्पतालजन्य फोहाेर उत्पादन हुने स्थान, उत्पादित फोहाेर सङ्कलन र ढुवानी गर्ने साधन तथा उपकरण, प्रशोधन गर्ने स्थान र प्रविधि तथा निर्मलीकरणपछिका सामान व्यवस्थापन संवेदनशील भएर गर्नुपर्छ भनिन्।

विभागले अस्पतालजन्य फोहर वर्गीकरण गर्न, जोखिमयुक्त फोहाेरलाई प्रशोधन गरेर निर्मलीकरण गर्न र उत्पादित फोहरको उचित व्यवस्थापन गर्नका लागि सार्वजनिक सूचनामार्फत पनि अनुरोध गरेको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई स्वास्थ्यजन्य फोहाेरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन गर्ने अधिकार दिएको छ। साथै स्वास्थ्य संस्थाहरुले चिकित्साजन्य फोहाेरको उचित व्यवस्थापन नगरे त्यस्ता संस्थाहरुलाई दण्ड जरिवाना गराउन पाउने अधिकार पनि स्थानीय सरकारलाई प्रदान गरिदिएको छ।