विश्वमै पहिलो पटक कृत्रिम गर्भाधानमार्फत गैंडा जोगाउने प्रयास



बीबीसी । प्रजननसम्बन्धी एउटा सफलताले ’नोर्दन ह्वाइट राइनो’ नामको गैँडाको एक प्रजातिलाई लोप हुनबाट जोगाउने आशा जागेको छ । पृथ्वीमा अहिले यस प्रजातिका जम्मा दुईवटा मात्र गैँडाहरू बाँकी रहेका छन् । वैज्ञानिकहरू प्रयोगशालामा बनाइएको भ्रुणलाई पोथी गैँडाको गर्भाशयमा राख्न सफल भएका छन् । यो गैँडामा गरिएको विश्वकै पहिलो कृत्रिम गर्भाधान हो । उक्त भ्रुण विकास गर्नका लागि ’नोर्दन ह्वाइट राइनो प्रजाति’सँग सम्बन्धित ’सदर्न ह्वाइट राइनो’ उपप्रजाति प्रयोग गरिएको छ । अब अर्को चरणमा ’नोर्दन ह्वाइट’ गैँडाको भ्रुणसँग पनि पछि त्यस्तै प्रक्रिया दोहोर्याउनुपर्छ ।

‘गैँडामा पहिलो पटक भ्रुण स्थानान्तरण गर्न सक्नु भनेको ठूलो सफलता हो,’ जर्मनीको लाइब्निज इन्स्टिट्यूट फर जू एन्ड वाइल्डलाइफ रिसर्चकी वैज्ञानिक सुसान होल्ट्जले भनिन् । यो कृत्रिम गर्भाधान ’बायोरेस्क्यू’ परियोजनाको एक हिस्सा हो। उक्त प्रजातिलाई बचाउन खोज्ने अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूको सञ्जालले यो परिोजाम सञ्चालन गरेका छन् ।


यो प्रजाति कुनै बेला मध्य अफ्रिकामा पाइन्थ्यो तर गैँडाको खागको मागका कारण अवैध रूपमा गरिने सिकारका कारण यसको अस्तित्व नै मेटिने अवस्था बनेको हो । अहिले यो प्रजातिका दुईटा मात्र पोथी गैँडा बाँकी छन्ः नाजिन र उसकी छोरी फातू । पहिले चिडियाखानामा राखिएका ती जनावरलाई अहिले अफ्रिकाको केन्यास्थित ओल पेजेटा प्राकृतिक संरक्षण केन्द्रमा कडा सुरक्षाका साथ राखिएको छ ।

हाल बाँकी रहेका दुई गैँडाले पनि प्रजनन गर्न असमर्थ भएकाले प्राविधिक रूपमा उक्त प्रजाति लोप भइसकेको छ । तर ’बायोरेस्क्यू’ टोली यी जनावरलाई लोप हुनबाट बचाउन असम्भवप्रायः मानिएको प्रजनन प्रक्रियामा सामेल भएको छ । उनीहरूले सदर्न ह्वाइट राइनोको प्रयोग गरेर आफ्नो काम सुरुवात गरेका छन्। यो प्रजातिका गैँडाहरू भने अझै पनि हजारौँ छन् र तिनलाई संरक्षणको सफलताको कथाका रूपमा हेरिन्छ । यद्यपि अझै पनि यो प्रजातिमाथि पनि अवैध सिकारीको आक्रमण जारी छ। उक्त परियोजनाले कैयौँ चुनौती पार गर्नका लागि वर्षौँ लगाएको छ ।

यो परियोजनाले दुई टन तौलका जनावरबाट डिम्ब कसरी सङ्कलन गर्ने भन्नेदेखि प्रयोगशालामा पहिलो पटक गैँडाको भ्रुण बनाउने र तिनीहरूलाई कसरी र कहिले प्रत्यारोपण गर्ने भन्ने कुरासमेत स्थापित गर्ने प्रयास गरेको छ । सदर्न ह्वाइट राइनोमा आईभीएफ गर्भाधान गराउन १३ पटकसम्म प्रयास गरिएको थियो ।

बेल्जियमको चिडियाखानामा रहेको पोथीको डिम्ब प्रयोग गरेर अस्ट्रियास्थित भाले गैँडाको शुक्रकीटबाट बनेको भ्रुणलाई केन्याको पोथी गैँडामा सारिएको थियो । गर्भावस्थाको सत्तरी दिनमा उक्त गैँडाको क्लोस्ट्रिडिआको सङक्रमणले मृत्यु भयो । माटोमा पाइने ब्याक्टेरियाका कारण जनावरहरूमा त्यस्तो सङ्क्रमण हुन्छ र त्यो उनीहरूका लागि घातक पनि बन्न सक्छ ।

उक्त मृत्युले टोलीलाई गहिरो झड्का दियो किनकि उसको गर्भमा ६.५ सेन्टिमिटरको भाले भ्रुण राम्रोसँग विकास भइरहेको र त्यो जीवितै जन्मने सम्भावना ९५ प्रतिशत रहेको परीक्षणका क्रममा पत्ता लागेको थियो । त्यसले उक्त प्रविधिले काम गरेको र गैँडामा आईभीएफमार्फत् पनि व्यावहारिक रूपमै गर्भाधारण गराउन सम्भव छ भन्ने देखाएको छ।

अबको चरण भनेको ’प्राविधिक रूपमा लोप भइसकेको’ नोर्दन ह्वाइट राइनोमा यस्तै प्रयास गर्नु हो । जर्मनी र इटलीमा तरल नाइट्रोजनमा भण्डारण गरिएका उक्त प्रजातिका ३० वटा मात्रै भ्रुण रहेका छन् । केन्यामा रहेको कान्छो पोथी गैँडा फातूबाट निकालिएको डिम्ब र उनीहरू मर्नुअघि नै दुइटा नोर्दन ह्वाइट भाले गैँडाबाट सङ्कलन गरिएका वीर्यबाट ती भ्रुणहरू विकास गरिका हुन् ।

यद्यपि यस प्रजातिको अर्को गैँडा जन्मनका लागि अर्को पनि वैज्ञानिक आधार चाहिन्छ । अन्तिम दुई जीवित पोथी गैँडामध्ये कुनैले पनि उमेर र स्वास्थ्य समस्याहरूका कारणले गर्भधारण गर्न सक्दैनन्। त्यसको सट्टा भ्रुणलाई सदर्न ह्वाइट गैँडाकै गर्भमा प्रत्यारोपण गरिनेछ । केही नोर्दन ह्वाइट गैँडा अझै जीवित रहँदा नै उक्त प्रजातिका नयाँ गैँडा जन्मिऊन् भन्ने उनीहरू चाहन्छन्।