म मात्र होइन, सरकार नै घेराबन्दीमा छ : गृहमन्त्री



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार घेराबन्दीमा परेको बताएका छन् ।

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले सो कुरा बताएका हुन । उनले भने, ‘म मात्र होइन, सरकार नै घेराबन्दीमा छ ।’


बैठकमा सांसदहरुले सरकारको सन्दर्भमा अनेकन विषय बजारमा आइरहेको भन्दै प्रधानमन्त्री एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग जिज्ञासा राखेका थिए ।

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा विवाद, टेरामक्स प्रविधि खरिद प्रकरणमा भएको भनिएको अनियमिततामाथिको अनुसन्धानले सरकारको आयुका सन्दर्भमा प्रश्न उठाएको भन्ने विषय के हो भनी उनीहरुले राखेका थिए । साथै, तारागाउँ स्थित सरकारी जग्गा विवादको विषयमा सिआइबीले अनुसन्धान अगाडि बढाएको विषयमा समेत सांसदहरुले जिज्ञासा राखेका थिए ।

कतिपयले गृहमन्त्री फेरेर गठबन्धन टिकाउन लागिएको भन्ने समेत सुनिएको भनी प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री श्रेष्ठले कुनै पनि प्रकरणको नाम लिएनन् । तर, चुनाव लगत्तै माओवादी केन्द्रको नेतृत्वमा सरकार नबनाउन बिभिन्न शक्ति केन्द्रहरु लागि परेको बताए । पार्टी र सरकारको नेतृत्वले सुझबुझका साथ आवश्यक कदम चालेको उनको भनाइ छ ।