भिजिट भिसा प्रकरणमा अध्यागमन अधिकृतसहित चार जनालाई थुनामा पठाउने आदेश



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा जिल्ला अदालत काठमाडौंले अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

मंगलबार थुनछेक बहसपछि न्यायाधीश कपिलमणी गौतमको इजलासले अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । यो प्रकरणमा मुछिएका अन्य ६ जनासँग धरौटी माग गरिएको छ ।


अदालतले खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव, मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । यसै प्रकरणमा पक्राउ परेका गीता शाहसँग ५ लाख रुपैयाँ, पदम लामासँग १ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७/७ लाख तथा रविन अर्यालसँग १ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको छ ।

भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध चलाइएको मुद्दामा यस्तो आदेश आएको हो ।

यही माघ १८ गते जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते गरी संगठित अपराध गरेको आरोपमा फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।