भारतीय नागरिकलाई अमेरिका पठाउने भन्दै काठमाडौंमा बन्धक बनाउने गिरोह पक्राउ



काठमाडौं । अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर ११ जना भारतीयलाई बन्धक बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गौशालाबाट उनीहरुको उद्धार गरी त्यसमा संलग्न ९  जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ । मेक्सिको हुँदै अमेरिका लैजाने भनेर काठमाडौं ल्याइ बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई उद्धार गरीएको काठमाडौं प्रहरी प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए । गिरोहले एक जना बराबर ४० देखि ४५ लाख भारतीय रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ ।


प्रहरीले पक्राउ परेकाहरुबाट नक्कली कागजात, रबर स्टाम्प र बोर्डिङ पास बरामद भएको जनाएको छ । काठमाडौं प्रहरी प्रमुख खत्रीले भने, ‘अमेरिका जान एक जनाले ४० देखि ४५ लाख भारतीय रुपैयाँ बुझाउने र काठमाडौं आएपछि तीन हजार डलर र पासपोर्ट बुझाउनुपर्ने भनिएको खुलेको छ । उहाँहरुले प्रयोग गर्नुभएका कागजात, छापहरु पनि बरामद गरेका छौं । नक्कली रबर स्टाम्प, बोर्डिङ पास सबै नक्कली बनाएको फेला परेको छ ।’

प्रहरीका अनुसार बन्धक बनाइएको ठाउँमा प्रविधिको प्रयोगले वरीपरी मेक्सिकोको परिवेश बनाएर उनीहरुलाई मेक्सिकोमा राखिएको जसरी उनीहरुका परिवारसँग पैसा मागेको खुलेको छ ।

पक्राउ परेकाहरुका भारतको नयाँ दिल्लीका ४२ वर्षीय चरणजित सिंह, पन्जावका मनीषकुमार मल्होत्रा, ५१ वर्षीय निपुन गुप्ता, मध्यप्रदेश राजगढका ३० वर्षीय रवि मेवादे, ५८ वर्षीय इन्दु सिंह यादव, महिपालपुरका ५४ वर्षीय अब्दुल रहिम र राजस्थानका ४८ वर्षीय रामचन्द्र शर्मा छन् । पक्राउ परेकामध्ये दुई जना धेरै अघिदेखि उपत्यकामा आएर काम गरिहेकाहरु रहेको खुलेको छ । इन्दुसिंह २०४२ सालमै नेपाल आएर गार्मेन्टमा काम गरेका हुन् ।

उनी ललितपुरको भैंसेपाटी बस्दै आएका थिए । यस्तै २०४६ सालमा नेपाल आएका निपुन गुप्ताले घडी पसल गरेका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।