बरफको ढिस्कोमा सुतेको ध्रुवीय भालुको तस्बिरलाई प्रतिष्ठित पुरस्कार



बीबीसी । पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुतेको ‘पोलर बेयर’को तस्बिरले एउटा विश्वप्रतिष्ठित पुरस्कार जितेको छ। ब्रिटेनका निमा सारिखानीले खिचेको यो तस्बिरले ’वाइल्डलाइफ फोटाग्राफर अफ द इयर पीपल्स चोइस अवार्ड’ पाएको छ ।

सारिखानी व्यावसायिक उद्देश्यले नभई रमाइलोका लागि तस्बिर खिच्छन् । नर्वेको स्पार्भार द्वीपसमूहनजिकै बाक्लो कुहिरो लागेको बेला ध्रुवीय भालु खोज्न तीन दिन बिताएपछि सारिखानी यो तस्बिर खिच्न सफल भएका थिए ।


‘पीपल्स चोइस अवार्ड’को विजेता छान्न विश्वभरिका वन्यजन्तु फोटोग्राफी तथा प्रकृतिमा रुचि राख्ने मानिसहरूलाई मतदान गर्न आग्रह गरिएको थियो । यस विधाका लागि छानिएका २५ तस्बिरमध्ये अन्य चार उत्कृष्ट तस्बिरलाई ’हाइली कमेन्डेड’ पुरस्कार दिइएको छ ।