काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण सम्भव नभएको निष्कर्ष निकालेको छ । विस्तृत सम्भाव्यता अध्ययनअनुसार प्राधिकरणले धरान उपमहानगरपालिकामा प्राविधिक कारण सम्भव नभएको निष्कर्ष निकालेको हो ।
नजिकै विराटनगरमा विमानस्थल रहेकाले पनि धरानमा विमानस्थल बनाउन प्राविधिक हिसाबले पनि कठिन हुने प्राधिकरणको भनाइ छ । तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेको छ ।
धरानमा विमानस्थल बनाउनु नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणको निष्कर्ष रहेको छ । प्राधिकरणले भनेको छ, ‘यातायातको सहज उपलब्धता र धरान क्षेत्रको भौगोलिक अवस्थितिले पनि ’वान वे अप्रोच’ मात्र सम्भव छ । धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना छैन । साथै विभिन्न प्राविधिक तथा सञ्चालनसम्बन्धी व्यवधानले धरानमा विमानस्थल बनाउन सम्भव नभएको हाम्रो निष्कर्ष छ ।’
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पटक–पटक धरानमा विमानस्थल बन्नुपर्ने माग राखेपछि मन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन दिएका थिए । त्यही अध्ययन समितिले दिएको सुझावका आधारमा प्राधिकरणले मंगलबार धरानमा विमानस्थल निर्माण सम्भव नभएको जनाएको हो ।