प्रसूति गृहबाट चोरिएकी बालिकाको काँडाघारीबाट उद्धार, दैलेखकी मनीषा सिंहसहित ३ जना पक्राउ



काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट २६ दिनको शिशु चोरीको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडांँको काँडाघारीमा बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुईजना रहेका प्रहरीले जनाएको छ ।

शुक्रबार राति करिब १२ बजेतिर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट शिशुको उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले शिशु्को चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।


गृहबाट बालिकाको चोरी घरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन् । बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ । मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत छन् ।

बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ ।

काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् । अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएपछि प्रहरीले खोजी थालेको थियो । सीसी टीभी फुटेजमा मास्क लगाएकी महिलाले शिशु लिएर हिंड्दै गरेको देखिएको थियो ।

बच्चा हराएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खोजीमा खटिएको थियो ।