काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारलाई मन्त्रीहरुमाथि उठेका प्रश्नको आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गरेपछि सभामुखले सरकारलाई जवाफ दिन निर्देशन गरेका हुन् ।
सभामुख घिमिरेले सरकारलाई जवाफ दिन निरन्तर रुलिङ गरेपनि अहिलेसम्म सरकारले जवाफ दिने छाटकाँट देखाएको छैन । पछिल्लो घटनाक्रमबारे जवाफ दिन सरकारलाई सभामुखले रुलिङ गरेको यो चौथो पटक हो ।