पछिल्लो समय केही शक्ति वर्तमान राज्य व्यवस्थाविरुद्ध खुलेर लागेः सचिव भट्टराई



ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले पछिल्लो समय केही शक्ति वर्तमान राज्य व्यवस्थाविरुद्ध खुलेर लाग्न थालेको बताएका छन् । उनले इतिहासमा सीमित भएको राजतन्त्र फर्काउने कुराले जनतामा भ्रम सृजना भइरहेको र यो वर्तमान व्यवस्थाविरुद्ध भएको बताएका हुन् ।

प्रेस चौतरी नेपालले आफ्नो स्थापना दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले वर्तमान राज्य व्यवस्था जनआन्दोलनको बलमा स्थापित भएकाले पुनरुत्थान गर्ने विचार दिवास्वप्नबाहेक केही नभएको र यसले कुनै नतिजा नदिने बताए । उनले कुनै पनि विकासक्रम वा राज्य व्यवस्था पछाडि फर्किन नसक्ने उल्लेख गर्दै इतिहासमा सीमित भइसकेको राजतन्त्रको वर्तमान र भविष्य नभएको स्पष्ट पारे ।


भट्टराईले राजतन्त्रको इतिहासलाई हेर्दा नेपालको एकीकरणमा राजा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिकाबाहेक राजतन्त्रको अरू कुनै सान्दर्भिकता नरहेको टिप्पणीसमेत गरे । यसैबीच प्रेस चौतारी नेपालले आफ्नो संस्थाको स्थापना दिवसका अवसरमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका तीन पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ ।

पुरस्कृत एवं सम्मानित हुनेमा नेपाल पत्रकार महासङ्घका पूर्वजिल्ला अध्यक्ष केशव भट्टराई, पूर्वसचिव रविन भट्टराई र वर्तमान उपाध्यक्ष गङ्गा लिङ्खीम छन् । तीनै पत्रकारलाई १० हजार एक सय पाँचसहित सम्मानपत्र वितरण गरिएको थियो ।