इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजिसी) ले पहिलो पटक युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको बताएको छ ।
नौसैनिक युद्धाभ्यासका क्रममा मंगलबार शाहिद महदवीबाट प्रक्षेपणमा एक हजार सात सय किलोमिटर टाढासम्मको लक्ष्यमा आक्रमण गर्न सक्षम दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको थियो ।
आइआरजिसीले पहिलो पटक ओमानको खाडीमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सरकारी टेलिभिजनले जनाएको छ । आइआरजिसी प्रमुख होसेन सलामीले युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइलको प्रक्षेपण सफलतापूर्वक गरिएको छ बताए ।
रिपोर्टअनुसार मध्य इरानमा आइआरजिसीले तेलअविवको दक्षिणमा इजराइलको पाल्माचिम एयरबेसमा सतहदेखि सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल आक्रमणको अनुकरण गरेको छ ।अक्टोबर ७ मा इजराइल–हमास युद्ध बढेपछि इरानी सैन्य अभ्यास बढ्दो क्षेत्रीय तनावको समयमा भइरहेको छ । इस्लामिक गणतन्त्र इरानले इजराइललाई मान्यता दिँदैन र लामो समयदेखि इजराइलविरुद्ध हत्या र तोडफोडको छायाँ युद्ध लडिरहेको छ ।