हामी वीपी स्कूलबाट दीक्षित विद्यार्थी हौंः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपी कोइराला नेपाली राजनीतिका मुर्धन्य व्यक्तित्व भएका बताएका छन् । आज (सोमबार) नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले कुनै न कुनै रुपमा नेपालका नेताहरु विपी स्कूलबाट दीक्षित रहेको दाबी गरे ।

‘अहिलेका समकालीन राजनीतिक दलहरु, नेताहरु, जुनसुकै राजनीतिक दलमा भएपनि कुनै न कुनै रुपमा र कुनै कुनै प्रतिशतमा वीपी कोइरालाको स्कूलबाट हामी दीक्षित मान्छेहरु हौं ।’ उनले भने, ‘कहिले पोजेटिभ रुपमा ग्रहण गरेर र ग्रहण नगरेर पनि वीपीबाट प्रभावित र वीपीबाट दीक्षित वीपी स्कूलका हामी विद्यार्थीहरु हौं । यो भन्न अब कसैले पनि अप्ठ्यारो मान्नुपर्ने स्थिति नेपालको लोकतान्त्रिक आन्दोलनमा रहेन ।’


साथै, उनले गणतन्त्रको विकल्प अर्को कुनै व्यवस्था नहुने बताए । नेपालमा व्यवस्थाका बारेमा गलत प्रचार गर्ने दुस्साहस भइरहेको उनले बताए । नेपाली कांग्रेसलाई बाहिर राखेर लोकतान्त्रिक प्रक्रिया र शान्ति प्रक्रिया सहज रुपमा नजाने उनले बताए । नेपालको राजनीतिक इतिहासमा आफूहरुले प्रधानमन्त्री हुँदा धेरै सहमति र मेलमिलापको प्रयास गरिरहेको उनले बताए ।

वर्तमान सरकारले कठिन परिस्थितिमा पनि केही राम्रा रेकर्डहरु बनाएको उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले गरेका कामहरुको स्वामित्व लिन कांग्रेसले हिचकिचाउन नहुने बताए । वर्तमान सरकारले जनतालाई दुःख परेको ठाउँमा इतिहासमा मानक कायम गर्ने काम गरेको उनको दाबी छ ।