सांसद पन्तको प्रस्ताव : संवैधानिक परिषदबाट प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गरौँ



काठमाडौं । एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषदबाट प्रधानन्यायाधीशलाई हटाउनुपर्ने प्रस्ताव राखेका छन् । आज (आइतबार) बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । उनले मुद्दालाई निष्पक्ष ढंगले सम्पादन गर्न प्रधानन्यायाधीशलाई बिदा गर्न आवश्यक रहेको बताए ।

‘पटक पटक प्रधानन्यायाधीश विवादास्पद हुन पुगे । त्यसकारणले अब यसमा संशोधनको आवश्यकता भयो । किनभने मुद्दा छिन्नुपर्ने मान्छे उ परिषद्मा सामेल भएपछि मुद्दा छिन्ने काम निष्पक्ष हुन्छ कि हुँदैन ? भन्ने प्रश्न पनि हो’ उनले भने, ‘यसमा न्यायपालिकाको अगाडि नैतिक सङ्कट पनि आयो । के गर्ने ?’


‘संवैधानिक परिषद् ‘काम, कर्तव्य, अधिकार र कार्यविधि’ सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा उनले प्रधानन्यायाधीश पटकपटक विवादास्पद बन्न पुगेकाले पनि संवैधानिक परिषदमा सामेल गर्ने कुरा उपयुक्त नहुने जिकिर गरे । यस्तै, उनले प्रतिनिधिसभाका उपसभामुखलाई पनि परिषदबाट हटाउन उपयुक्त हुने तर्क गरे ।