काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो खातामा एक करोड ८० ;लाख जम्मा नभएको बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले आफुले ग्यालेक्सी टेलिभिजन छोड्दा आफ्नो खातामा जम्मा गरेको भनिएको रकम आफ्नो खातामा नआएको दाबी गरेका छन् ।
कान्तिपुर दैनिकले सोमबारको अंकमा लामिछानेले ग्यालेक्सी टेलिभिजन छोड्दा शेयर बापतको एक करोड ८० लाख रकम उनको खातामा जम्मा गरेको स्लीपसहित प्रकाशित गरेको थियो ।
लामिछानेले आफ्नो खातामा सो रकम जम्मा नभएको बताउदै अब कानुनी रुपमा मैले के गर्ने भन्ने प्रश्न गरेका छन् ।
आफ्नो खातामा जम्मा नभएको रकम जम्मा भएको भन्दै समाचार प्रकाशित गरिएको गुनासो गरेका छन् । उनले लगातार आफ्नो चरित्र हत्या गर्न समाचार प्रकाशित गरिरहेको आरोप समेत लगाए ।
सभापति लामिछानेले ग्यालेक्सी टेलिभिजनको बोर्डमा कुनै पनि निर्णयहरुमा सहकारीबाट पैसा लिएको उल्लेख नभएको बताए । उनले बोर्डका निर्णयको प्रतिलिपि आफुसँग रहेको र आफुले सो देखाउन तयार रहेको बताए ।