बालेनले महानगर शिक्षा शाखा प्रमुखलाई सोधे स्पष्टीकरण



काठमाडौं । काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ ।

मेयर बालेन शाहले निर्णय गर्नुपर्ने विद्यालयको अध्ययन अनुमति सम्बन्धी निर्णय आफैँले गरेको पाइएपछि उनलाई स्पष्टीकरण सोधिएको हो ।


कोइरालाले पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएको छ । कोइरालाको अनुमतिपछि विद्यालयले २२ जना बिद्यार्थीसमेत विज्ञान संकायमा भर्ना गरिसकेको थियो ।

कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० गते विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए । तर, शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको बालेनको सचिवालयले जनाएको छ ।

स्थानीय तहमा नगर शिक्षा समितिका संयोजक नगर प्रमुख नै रहने व्यवस्था छ । कोइरालाले अनुमति दिएपछि रत्नराज्य माविमा विज्ञान संकायमा विद्यार्थी भर्ना भएर पढाइ समेत भइरहेको छ ।