काठमाडौं । ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतलाई सरकारले सहिद घोषणा गर्ने भएको छ ।
पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा उनीहरुको मृत्यु भएको थियो ।
घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ भने मृतक परिवारका सदस्यलाई दश दश लाख रकम दिने निर्णय पनि भएको छ ।
यसअघि मृतकका परिवार र सरकारबिच ४ बुँदे सहमति भएको थियो । गृह मन्त्रालयमा भएको छलफलमा ४ बुँदे सहमति भएसँगै शव उठाउन पीडित परिवार सहमत भएका छन् ।
४ बुँदे सहमतिको पहिलो बुँदामा मृतकका परिवारका सदस्यसँगको सल्लाहमा परिवारका १-१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने उल्लेख छ ।
यस्तै सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने दोस्रो बुँदामा उल्लेख छ ।
मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमतिको तेस्रो बुँदामा उल्लेख छ भने चौथो बुँदामा मृतकका परिवारले आजै शव बुझिलिने सहमति भएको छ ।
मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पु¥याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने सहमतिपत्रमा उल्लेख छ । पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।
सो घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरिसकेको छ भने मृतकका परिवारका सदस्यलाई प्रति परिवार दश लाख रकम उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ ।