बागमतीबाट गठबन्धनका चारै उम्मेदवार विजयी



काठमाडौँ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन् । 

बागमतीबाट महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनीले ६ हजार ६२२ मतभारसहित विजयी भएकी छन् भने उनले नेकपा एमालेकी उम्मेदवार रोचकुमारी चौलागाईंलाई पराजित गरेकी छन् । उनले २ हजार ५५२ मतभार प्राप्त गरेकी छन् ।


त्यस्तै दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् । रिजालले ६ हजार ५१२ मतभार प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले ३ हजार ५२ मतभार प्राप्त गरेका छन् ।

त्यसैगरी अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जितजंग बस्नेत निर्वाचित भएका छन् । बस्नेतले ६  हजार ५३१ मतभार ल्याउँदा नेकपा एमालेका त्रिलोचन निर्मल पौडेलले २ हजार ३५९ मतभारसहित पराजित भएका छन् ।

अल्पसंख्यक तथा अपांगतातर्फ माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी विजयी भएका छन् । अधिकारीले ६ हजार ४३६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार विवेक देवकोटा २ हजार ७३४ मतभर प्राप्त गर्दै पराजित भएका छन् ।

बागमती प्रदेशमा प्रदेश सभाका सदस्य तर्फ ११० जना मतदाता रहेकोमा १०८ जनाले मतदान गरेका थिए भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २३७  मतदाता रहेकोमा २३४ जनाले मतदान गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।