पपुवान्यूगिनीमा प्रहरीको हड्ताल: लुटपाट र हिंसा, १५ जनाको मृत्यु



पोर्ट मोरेस्बी । पपुवा न्यू गिनीमा सुरक्षाकर्मी हड्तालमा गएपछि लुटपाट र हिँसा मच्चिएको छ । सरकारले पारिश्रमिक आधा घटाएपछि प्रहरी हड्तालमा जादा लुटपाट मच्चिएको हो ।

हिंसामा १५ जनाको मृत्यु भएपछि पपुवा न्यू गिनीका प्रधानमन्त्रीले बिहीबार ‘अराजकता’ विरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  बुधबार साँझ राजधानी पोर्ट मोरेस्बीमा सैनिक, प्रहरी अधिकारी र जेलगार्डको एक समूहले सरकारविरुद्ध प्रदर्शन सुरु गरेपछि हिंसा भड्किएको थियो ।


राजधानीबाट उत्तरतर्फ करिब ३०० किलोमिटर टाढा रहेको लाए सहरमा दङ्गा भड्किएको हो । प्रधानमन्त्री जेम्स मारापेले बिहीबार देशसँग माफी माग्दै ‘अराजकता’ को उत्पत्ति ‘सह्य नहुने’ बताएका छन् ।  उनले भने, “यो जति मेरो देश हो त्यति नै तपाईँको देश हो कानुन भङ्ग गर्दैमा कुनै परिणाम प्राप्त हुँदैन ।”

प्रहरी आयुक्त डेभिड म्यानिङले नागरिक अशान्तिका कारण कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।  पोर्ट मोरेस्बीको सबैभन्दा ठूलो अस्पतालले गोली लागेर घाइते भएका २५ जनाको उपचार गरेको उपलब्ध गराइएको विवरणमा उल्लेख छ ।

राजधानीका पसलहरूमा लुटेराहरू पसेको, सामान किन्दा प्रयोग गरिने ट्रली र प्लाष्टिकका बाल्टिनहरूमा लुटेका सामानहरू कार्डबोर्ड बक्समा भरी लिएर गएका देख्न सकिन्छ ।

त्यस्तै भवन र कारहरूमा आगजनी गरिएको छ, जसले शहरका सबैभन्दा बढी प्रभावित भागहरूमा कालो धुवाँको बाक्लो मुस्लो उडेको देखिन्छ ।  पोर्ट मोरेस्बीस्थित अमेरिकी दूतावासले लुटेरा समूहलाई तितरबितर पार्न प्रहरीले प्रयास गर्दा आफ्नो कम्पाउण्ड नजिकै गोली चलेको जनाएको छ ।

यसअघि पोर्ट मोरेस्बीस्थित प्रधानमन्त्रीको कार्यालय बाहिर सानो भीड जम्मा भएको र पार्किङ गरिएको प्रहरीको गाडीमा आगजनी गरेको थियो ।

पोर्ट मोरेस्बी निवासी तथा पपुवा न्यु गिनी विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक माहो लाभेलले बिहीबार साँझसम्ममा शान्ति बहाली भएको बताए ।  उनले भने, “प्रहरी र सर्वसाधारणले लुटेराहरूलाई लखेटेका छन् र उनीहरूले जलिरहेका भवनको आगो निभाई थप क्षति हुनबाट रोकेका छन् ।”

पपुवा न्यू गिनीमा बेरोजगारी र मुद्रास्फीति बढ्दै गएको छ । तर, सरकारले सुरक्षाकर्मीको तलब बढाउनुको सट्टा प्रहरीको तलब ५० प्रतिशतले घटाइएपछि उनीहरु सरकारको विरुध्दमा प्रदर्शनमा उत्रिएका हुन् । यसबाट आक्रोशित प्रहरीहरु संसदबाहिर हडतालमा बसेका थिए । यसपछि सहरमा हिंसा बढेको थियो ।