नक्कली डलरसहित काठमाडौंबाट दुईजना पक्राउ



काठमाडौं । प्रहरीले नक्कली अमेरिकी डलरसहित काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले टोखा नगरपालिका वडा नम्बर १० गोंगबु नर्थ क्याफे नजिकैबाट दुई जनालाई नक्कली डलरसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा रोल्पा घर भई बौद्ध बस्ने ५० वर्षीय कमल बुढा र पूर्वी नवलपरासी घर भई नेपालटार बस्ने २९ वर्षीय कमल भट्टराई छन् । सोमबार साँझ नक्कली अमेरिकी डलरको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी प्रभाग नयाँ बसपार्कको टोली खटिएको थियो ।


उक्त टोलीले दुई जनालाई नक्कली अमेरिकी डलरसहित फेला पारेको थियो । उनीहरुको साथबाट प्रहरीले ५० को अमेरिकी डलर जस्तो देखिने १७० वटा कागज बरामद गरेको छ । प्रहरीले पक्राउ परेका दुई जनालाई मुद्रा सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ ।