काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ड्राइभिङ स्कुलमा सिकेको प्रमाणपत्र पेश गरेपछि मात्रै सवारी चालक अनुमती पत्रका लागि ट्रायल दिन पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् । हिजो (आइतबार) सातै प्रदेशका यातायात मन्त्री र सरोकारवालाहरुसँगको छलफलमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।
‘ट्रायल दिँदाखेरी हामीले जुनसुकै मान्छे गएर पनि ट्रायल दिन पाउँछौं अहिले । यसको निम्ति बेसिक केही योग्यता चाहिन्छ ? केही पनि छैन । मेडिकल्ली त फिट हुनुपर्यो । ड्राइभिङ स्कुलबाट चाहीँ प्रशिक्षण लिएको, पास गरेको प्रमाणपत्र पेश गरेर मात्रै ट्रायल दिन पाउने व्यवस्था गर्यो भने अझै भरपर्दो हुन्छ,’– उनले भने ।
मन्त्री ज्वालको उक्त प्रस्तावलाई प्रदेशका मन्त्रीहरुले ठाडै अस्वीकार गरे । यो सम्भव नरहेको प्रदेशका मन्त्रीहरुको भनाइ छ । ड्राइभिङ स्कुलहरु मापदण्डविपरीत नै चलिरहेको भन्दै प्रदेशका मन्त्रीहरुले ध्यानाकार्षणसमेत गराए । प्रदेशका मन्त्रीहरुले प्रमाणपत्रको व्यस्था पहिला–पहिला गरिएको स्मरण गराउँदै झोलामा ड्राइभिङ स्कुल राखिएर वितरण हुन थालेपछि बन्द गरिएको जानकारी गराए । उक्त व्यस्था कुनै पनि हालतमा व्यवहारिक नरहेको र लागू हुननहुने प्रदेशका यातायात मन्त्रीहरुको अडान छन् ।