टोकियो । जापानमा मृत्युदण्डको कडा जनसमर्थन रहेको छ । मृत्युदण्डलाई गोप्य र ‘क्रूर’ तरिकाले गरिने गरिएको भन्दै यस विधिको भने चर्को आलोचना गर्ने गरिएको छ । जापानमा मृत्युदण्ड दिँदा अहिलेपछि झुण्डाएर दिने विधिलाई नै अपनाइने गरिएको छ ।
सन् २०१९ मा क्योटोको एनिमे स्टुडियोमा ३६ जनाको ज्यान जाने गरी भएको आगजनीको अभियोगमा शिन्जी आओबालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
सात औद्योगिक अर्थतन्त्रहरू भएका मुलुकको समूह (जी–७) का दुई सदस्य जापान र संयुक्त राज्य अमेरिकाले मात्र मृत्युदण्डलाई कायम राखेका छन् ।
जापानमा सन् २०१९ को एक सरकारी सर्वेक्षणले ८० प्रतिशत मानिसहरूले मृत्युदण्डलाई ‘अपरिहार्य’ बताएको उल्लेख छ । एक हजार ५०० भन्दा बढी सहभागी रहेको उक्त सर्वेक्षणमा नौ प्रतिशतले मात्र यसलाई खारेज गर्नुपर्ने पक्षमा थिए ।
मृत्युदण्डको समर्थन गर्नेमध्ये करिब ५७ प्रतिशतले मृत्युदण्ड खारेज गरिए पीडित परिवारले ‘कहिल्यै पनि राहत महसुस नगर्ने’ बताएका छन् । न्याय मन्त्रालयले एएफपीलाई दिएको जानकारीअनुसार डिसेम्बरसम्म १०७ जना कैदीले आफ्नो मृत्युदण्डको सजाय कार्यान्वयनको पर्खाइमा थिए ।
आओबाले क्योटो जिल्ला अदालतले दिएको सजायविरुद्ध अपिल गर्न सक्छन् तर कानुनले अन्तिम फैसला भएको छ महिनाभित्र मृत्युदण्ड दिइसक्नुपर्ने व्यवस्था गरेको छ । तथापि, वास्तवमा, अधिकांश कैँदीहरूलाई कहिलेकाहीँ दशकौंसम्म पनि एकान्तवासमा राख्ने प्रचलन पनि रहेको छ ।
झण्डै डेढ शताब्दीदेखि जापानको एकमात्र मृत्युदण्ड दिने विधि झुण्डाउने नै हो । दोषीहरूलाई आँखामा पट्टी बाँधेर, खुट्टा बाँधेर र हात बाँधेर फाँसी दिइन्छ ।
धेरै जेल अधिकारीहरूले नजिकैको कोठामा एकसाथ बटन थिच्दा तिनीहरूको तल एउटा ट्रयापडोर खुल्छ । कुन बटनले घातक संयन्त्रलाई ट्रिगर गर्दछ भनेर कसैलाई पनि बताइएको हुँदैन ।
मृत्युदण्डको सजाय पाएका तीन जना कैदीले सन् २०२२ मा फाँसी दिने विधिलाई ‘क्रूर’ भन्दै यसको अन्त्यका लागि माग गरेका थिए । आलोचकहरूले फाँसीको प्रावधानले गलत मृत्युदण्डको सम्भावना राख्छ र यो लामो, पीडादायी मृत्युको कारण बन्ने तर्क गरेका छन् ।
जापानमा सन् २०२३ मा मृत्युदण्ड दिइएको थिएन तर सन् २०२२ मा एउटा र सन् २०२१ मा तीन जनालाई मृत्युदण्ड दिइएको थियो । पछिल्लो पटक सन् २०२२ को जुलाईमा तोमोहिरो काटोलाई फाँसी दिइएको थियो, जसले सन् २००८ मा टोकियोको अकिहाबारा जिल्लामा पैदलयात्रीलाई ट्रकले ठक्कर दिएर सात जनाको हत्या गरेका थिए ।
सन् २०१८ मा गुरु शोको आसाहारा र ओम शिन्रिक्यो कल्टका १२ जना पूर्व सदस्यलाई मृत्युदण्ड दिइएको थियो ।
सन् १९९५ मा टोकियोको सबवे प्रणालीमा सरीन ग्याँस आक्रमणको योजनाकार ओम शिनरिक्यो १३ जनाको मृत्यु र हजारौं बिरामी परेको आक्रमणका लागि दोषी ठहरिएका थिए ।
गत हप्ता एक २१ वर्षीय युवकलाई एक बालिकाका आमाबाबुको हत्या गरी घरमा आगो लगाएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो । जापानमा सूचनाविना नै फाँसी दिने प्रणालीको व्यापक आलोचना हुने गरेको छ ।
कैदीहरूलाई प्रायजसो अन्तिम समयमा र सामान्यतया बिहानको समयमा यो घटना हुनुभन्दा केही घण्टा अघि उनीहरूको आसन्न मृत्युको बारेमा सूचित गरिन्छ ।
मानवअधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको रिपोर्टमा मृत्युदण्डको बिषयमा ‘केहीलाई कुनै चेतावनी पनि नदिने गरिएको उल्लेख गरेको छ । आफूलाई कहिले मृत्युदण्ड दिइने हो भन्ने थाहा नपाउँदाको मनोवैज्ञानिक पीडाले गर्दा दुई जना कैदीले सन् २०२१ मा ‘ढिलो सूचना प्रणाली’ विरुद्ध मुद्दा दायर गरेका थिए ।
जापानमा परिवारका कुनै पनि सदस्यले कैदीहरूको अन्तिम क्षण (मृत्युदण्ड) मा साक्षी हुने प्रचलन छैन ।मृत्युदण्डसम्बन्धी सार्वजनिक बहस पनि सीमित छ, अधिकारकर्मीहरूले राष्ट्रव्यापी छलफललाई उत्प्रेरित गर्न अधिकारीहरूद्वारा सूचनाको राम्रो खुलासा गर्न आह्वान गरेका छन् ।