चेक गणतन्त्रमा बन्दुक नियन्त्रणका लागि कडा कानून बनाइँदै



मुलुकको आधुनिक इतिहासको सबैभन्दा घातक गोलीबारीको एक महिनापछि चेक संसदले बन्दुक नियन्त्रण उपायहरू कडा बनाउने एक विधेयक पारित गरेको छ ।

यो कानून बन्ने दिशामा पहिलो कदम हो । डिसेम्बरमा राजधानीको ऐतिहासिक केन्द्र प्रागको चाल्र्स विश्वविद्यालयमा एक छात्रले आफैंलाई गोली हान्नुअघि १४ जनाको हत्या गरे र २५ जनालाई घाइते बनाएका थिए । उक्त विधेयक सरकारले गोलीबारीभन्दा केही महिना पहिला जुनमा प्रस्तुत गरेको थियो । उक्त विधेयकले बन्दुक बिक्रेताहरूलाई शङ्कास्पद खरिदको रिपोर्ट गर्न आदेश दिन्छ ।


सिनेटले पास गर्न र राष्ट्रपतिले कानूनमा हस्ताक्षर गर्न बाँकी रहेको उक्त विधेयकले अहिले पनि चेकहरूलाई बन्दुक खरिद गर्न, राख्न र बोक्न अनुमति दिनेछ । तर विधेयकले प्रहरीलाई सुरक्षा जोखिमका कारण हतियार जफत गर्न पनि अनुमति दिन्छ र बन्दुक मालिकहरूको कडा स्वास्थ्य परीक्षण गराउँछ ।

चौबिस वर्षीय ती छात्रले अर्ध–स्वचालित राइफल, गोलाबारुद र साइलेन्सरसहित आफ्ना हतियार किन्नका लागि ऋण लिएका थिए । गृह मन्त्रालयले अहिले एउटा संशोधनको योजना बनाइरहेको छ । उक्त योजनाले बन्दुक स्वामित्वको नियमहरूलाई अझ कडा बनाउने छ ।