चिराइतोको मूल्य बढेपछि किसान उत्साहित, प्रतिमत ५४ हजार पुग्यो



इलाम ।  बहुमूल्य जडीबुटी चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एक दशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य यस वर्ष बढेपछि किसान उत्साहित भएका हुन् । 

गत वर्ष मुस्किलले प्रतिमनअर्थात् ४० किलो रु २५ हजारमा बिक्री भएको चिराइतो अहिले किसानको घरबाट प्रतिमन रु ५४ हजारसम्ममा बिक्री भइरहेको सन्दकपुर गाउँपालिका–१ का किसान हेमकुमार राईले बताए । 


केही वर्षयता मूल्य घटेपछि राईसँगै धेरैले व्यावसायिक चिराइतो खेती छाड्दै गएका थिए । अहिले अप्रत्याशित मूल्य बढेपछि किसान पुनः उत्साहित भएका छन् ।

अहिले व्यवसायी चिराइतो सङ्कलन गर्न गाउँगाउँ पुग्न थालेका छन् । चिराइतो खोजी गर्दै गाउँमा व्यापारी आएसँगै व्यावसायिक चिराइतो खेती गर्दै आएका सन्दकपुरका किसाले मनग्य आम्दानी गरिरहेको जडीबुटी व्यवसायी फुर्वा तामाङले बताए । 

पहिले पहिले जङ्गल र खेतबारीमा स्वतः उम्रने चिराइतो पछिल्लो समय किसानले व्यावसायिक रुपमा खेती पनि गर्दै आएका छन् । समुद्र सतहबाट एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले जिल्लाका माथिल्लो भेगका अधिकांश किसाले चिराइतो खेती गरिरहेका छन् ।

इलामको सन्दकपुर गाउँपालिकाका माइपोखरी, सुलुबुङ, माबु, माइमझुवा, जमुना र इङ्ला तथा माइजोगमाई गाउँपालिकाका प्याङ र नयाँबजार एवं इलाम नगरपालिकाको पुवामझुवाको माथिल्लो भेगमा चिराइतोको व्यावसायिक खेती हुने गरेको छ ।