गगन थापाले मेची पुलबाट सुरु गरे ‘संवाद यात्रा’



झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन् । हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने पूर्व निर्धारित कार्यक्रमअनुसार थापाले शनिबारदेखि भद्रपुरको मेची पुलबाट यात्रा थालनी गरेका हुन् ।

अभियानको पहिलो दिनमा गगन थापाका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत सहभागी भएका छन् । यो यात्रा २६ माघसम्म हुलाकी राजमार्ग आसपास पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म थापाले बताए ।


यसअघि शुक्रबारदेखि कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको छ । त्यही अभियानअन्तर्गत थापाले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा सुरु गरेका हुन् ।

संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम हुने महामन्त्री थापाको सचिवालयले जनाएको छ । थापाले संवाद यात्राको कार्यक्रम बिहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन् । यात्राका क्रममा एक जिल्लामा न्यूनतम पाँच कार्यक्रम गर्ने योजना छ ।